सुर्खेत, ३ माघ । कर्णालीमा फेरि हिमपात भएको छ । हिमपात र वर्षापछि यहाँको जीवन कष्ठकर बनेको छ ।
कर्णालीमा क्षेत्रमा यसवर्ष हिमपात र वर्षा भएको साताँै पटक हो । हुम्ला, डोल्पा, मुगु, जुम्लाको जनजीवन चिसोका कारण कष्टकर बनेको स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले कठ्याँग्रिँदो चिसो बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालका अनुसार हिमपातले हुम्लाका स्थानीयको दैनिकी सकसपूर्ण बनेको छ । हिमपातका कारण यहाँको मोबाइल तथा टेलिफोन सेवा समेत अवरुद्ध भएको छ ।
लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युतका पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको यहाँका स्थानीयले जनाएका छन् ।
चिसोले सुर्खेत, दैलेख सल्यान र रुकुम पश्चिमका शैक्षिक संस्था पनि प्रभावित भएका छन् । सरकारी कामकाज नियमित कामकाज हुन सकेको छैन । हिमाली जिल्लामा बढेको चिसोका कारण सेवाग्रहीले सेवा लिन पाएका छैनन् । कर्मचारीले भने आगो बालेर कार्यालय खुला गर्दै आएका छन् । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको शुक्रबारको तापक्रम माइनस दुई डिग्री सेल्सियस रहेको छ ।