नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको आगमन भइसकेको छ । आइतबार यमपञ्चकको पहिलो दिन काग तिहार मनाएर तिहारलाई स्वागत गरिसकिएको छ । आज दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा गरेर मनाइँदै छ । यसपटक कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो ।
यमपञ्चकको महवपूर्ण दिन भाइटीका कात्तिक १० गते परेको छ । यसअघि कात्ति ९ गते नेवार समुदायले मनाउने म्हपूजा परेको छ । सोही दिन नेपाल सम्वत्को नयाँ वर्षसमेत परेको छ । तिहार सकेलगत्तै कात्तिक १३ गते छठ पर्व मनाइँदै छ ।
दसैंको १५ दिनपछि आउने चाड तिहार कात्र्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । हिन्दू धर्मावलम्बीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामका साथ मनाउँछन् ।
हिन्दूहरुले मात्र नभई अन्य धर्मावलम्बीका मानिसहरुले पनि तिहार पर्वलाई उत्तिकै उत्साहका साथ मानाउने गरेका छन् ।तिहारको साँस्कृतिक एवं धार्मिक दुवै महत्व रहेको छ । दक्षिण एसियाका धेरै देश विशेषगरी नेपाल, भारत, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाउने प्रचलन रहेको छ ।
तिहारमा काग, कुकुर, गाइ, गोरु तथा धनधान्यकी देवता लक्ष्मीको पूजा गरिन्छ । यसले विभिन्न पशुपक्षीप्रतिको सद्भाव बढाउने काम गर्दछ । यस्तै दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका लगाइदिने चलन छ । यो पर्वले दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध र आत्मीयतालाई प्रगाढ बनाउने गर्दछ ।
त्यही कारण तिहार हिन्दू धर्मावलम्बीहरुमाझ मात्र सीमित नभई सबै जातजाति, समुदाय, धर्मावलम्बीको प्रिय पर्व बनेको छ । यता नेवार समुदायले मनाउने म्हपूजा (अफ्नै शरीरको शुद्धीका लागि गरिने पूजा)ले पनि पछिल्लो समय व्यापकता पाउँदै गएको छ ।
तराई क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यका तथा पहाडी जिल्लाहरुसम्म फैलिएको छ । यसले राष्ट्रिय पर्वको मान्यता पाइसकेको छ । यहीबीचमा परिवर्तन हुने नेपाल सम्वत्को आफ्नो छुट्टै महत्व रहेको छ ।यी पर्वहरुले नेपालीहरुबीच रहेको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउन ठूलो भूमिका खेल्दै आएको छ ।
बहुजातीय, बहुसा“स्कृतिक मुलुक नेपालमा विभिन्न जाति समुदायले मनाउने चाडपर्वमा अरु सबैले साथ दिँदै आएका छन् । यो नै नेपालीहरुका लागि एक गर्व गर्नलायक विषय बनेको छ । एकले अर्कोको चाडलाई सम्मान गर्दै मनाउनु साँच्चिकै सुन्दर पक्ष हो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ । सबैको चाडबाडलाई उत्तिकै सम्मान र माया गर्नुपर्छ ।
चाडबाडका बेला विभिन्न सतर्कता अपनाउन जरुरी छ । घरको सुरक्षादेखि स्वास्थ्य तथा यात्राका क्रममा विशेष सतर्कता र सावधानी अपनाउनुपर्छ । पर्वको उत्साहको बेला पहिले नै होस् पुर्याइएन भने ठूलो जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । रमाइलो गर्ने क्रममा मादकपदार्थ सेवन गरेर जथाभावी गर्नु हुँदैन ।
जुनसुकै चाडबाड सभ्य रुपमा मनाउन जरुरी छ । तिहारलगायत पर्वको महत्वलाई जोगाइराख्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । घरघरमा भित्रिएको तिहार, छठ, नेपाल सम्वत्लगायत चाडपर्व भव्यताका साथ मनाऔं । यी पर्वले देश विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् ।
सुस्वास्थ्य अनि दीर्घायु कायम होस् । सम्पूर्णमा हार्दिक शुभकामना ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ १२:१५