बागलुङ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका गरिबीलाई आउँदो ११ वर्षभित्रमा शून्यमा झारिने प्रतिवद्धता जनाएका छन् ।
माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित जैमिनी मेलामा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले गण्डकी प्रदेशमा समृद्ध प्रदेशको आधार तयार भएकोले पनि आफुले यस्तो प्रतिवद्धता जनाएको बताए । उनले यो प्रदेशमा कानूनी जग, संरचना र जनशक्ति व्यवस्थापन गरिएकोले पनि समृद्ध प्रदेश बन्नेमा आफु विश्वास्त भएको बताए । उनले समृद्धिको लागी पाँच, ११ र २५ वर्षसम्मको योजना तथा लक्ष्य तयार गरिएको जनाए ।
मुख्यमन्त्री गुरुङले प्रदेश सरकार बनेपछि जनतामा आशा जागेको उल्लेख गर्दै न्याय र समानतासहितको समृद्धि ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले प्रदेशका ८३ हजार घरधुरी अहिले पनि गरिबीको रेखामुनी रहेको सरकारी आँकडा रहेकोले पनि त्यसमा समृद्धी ल्याउन सजिलो हुने धारणा राखे । यस्तै प्रदेशको औसत आयु ७२ वर्ष रहेकोले यसलाई बढाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए । त्यस्तै प्रदेशका १५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा हाल सम्म पनि नभएकोले यसलाई पनि विशेष प्राथमिकताले हेरेको उनले बताए । उनले खानेपानी आयोजनाका लागि चालू आवमा संघीय सरकारको ८० करोड र प्रदेश सरकारको पनि सोही बराबरको बजेट परिचालन भएको बताए । बिजुली नपुगेको ९ प्रतिशत घरधुरीमा आउँदो एक वर्षभित्रमा सबै घरमा बिजुली पु¥याउने लक्ष्य रहेको उनले बताए । आगामी पाँच वर्षमा तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारले लिएको र प्रदेशमै उत्पादित बिजुलीको उपभोग बढाइ इन्धन र ग्यासको आयातलाई घटाउने पनि उनले बताए । मुख्यमन्त्री गुरुङले इन्धन र ग्यासमा वार्षिक अर्बौ रूपैयाँ बाहिरिएको र त्यसलाई प्रतिस्थापन गर्न सके ठूलो रकम प्रदेशकै ढुकुटीमा रहन्छ भन्दै प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८५ वटै स्थानीय तह जोड्ने सडकलाई सात मिटर चौडासहित कालोपत्र गर्ने बताए ।