काठमाडौं–आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा र प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक अन्य जिल्लामा ढुवानी भइसकेको छ ।
केही दुर्गम जिल्लामा सडक अवरोध भएका कारण मतपत्र ढुवानी गर्न बाँकी रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिने आयोगले जनाएको छ ।
आयोगले शुक्रबारदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी सुरु गरेको छ । सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो ।
अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने र निर्वाचन अधिकृतले मतदान अधिकृतलाई बुझाउनेछन् ।
आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार १६ कात्तिकभित्र नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९ १०:४६