तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ ।
फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उनले बताए । “फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरानमा घरेलु औजार बनाउँदै गरेका उनले भने, “दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।”
मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेको छ । मेसिन बनाउन करिब रु ३० हजारका सामान खरिद गरेको उनले बताए । युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको हो । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएको छ । करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उनले बताए ।
कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उनको भनाइ छ ।
चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आउनुभएका विश्वकर्माले आरन दर्ता गर्नु भएको छैन । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उनले बताए।
करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आउनुभएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्छन । नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताए ।
विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताए । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका छ÷सात वटा गाउँका बासिन्दाले उनको आरनबाट सेवा लिँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ १३:१८