काठमाडौं–भारतको गुजरात मोरबीमा रहेको एउटा झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको संख्या १४० पुगेको छ भने १७७ जनाको उद्दार गरिएको छ ।
आइतबार छठको समयमा मानिसहरूको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि चुँडिएको हो ।
क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरू भेला भएका बेला चुँडिएको थियो ।
पुल चुँडिएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् ।
करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १२:०७