काठमाडौं– नेकपा एकीकृत समाजवादीले घोषणापत्रमा ‘सिँचाइमा लगानी: कृषियोग्य जमिनमा पानी’को नारा दिँदै पूर्वदेखि पश्चिमसम्मका नदी जोड्ने महत्त्वाकांक्षी योजना राखेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले सबै नदी एकअर्कासँग जोडेर पूर्व पश्चिम मेगा नहर राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।
सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दिर्घकालीन सोचका साथ यो योजना ल्याइएको सो पार्टीले जनाएको छ । ‘मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरब, सुनकोसी– कमला र सुनकोसी–मरिण–वाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी– बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइने छ’ घोषणापत्रमा उल्लेख छ ।
भूमिगत सिँचाइको सम्भावना भएका तराई–मधेस र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भूभागमा अवस्थित समथर भूभाग, बेंसी तथा टारमा सौर्य ऊर्जा एवम् अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ कार्यक्रम लागू गरिने घोषणापत्रमा उल्लेख छ ।
‘पुराना सिँचाइ प्रणालीलाई मर्मत–सम्भार तथा पुनर्निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गरिने छ’ घोषणापत्रमा भनिएको छ ‘चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछा पालन कार्यक्रम लागू गर्न पहल गरिने छ ।’ आकासे पानी संकलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लास्टिक पोखरी र तालतलैया एवम् पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिाचाइ सुविधा उपलब्ध गराउन जोड गरिने समाजवादीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १४:०५