काठमाडौं– निर्देशक दिवाकर भट्टराई पछिल्लोपटक नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रुचाइएका निर्देशक हुन् । सिन्धुलीको विकट गाउँबाट निर्देशक बन्ने सपना साँचेर काठमाडौं आइपुगेका दिवाकर अहिले त्यो सपनालाई पुरा गर्दै एकपछि अर्को फिल्ममा व्यस्त छन् । फिल्म ‘मेरो जीवन साथी’बाट निर्देशनमा ‘डेब्यू’ गरेका दिवाकरले यो फिल्मबाट ‘बेस्ट डेबुटेन्ट निर्देशक’को अवार्ड पनि पोल्टामा पारे । यमन म्यूजिकले निर्माण गरेको यो फिल्म निकै महँगो फिल्ममा पर्दछ ।
फिल्म ‘मेरो जीवन साथी’मा सोलो निर्देशकका रूपमा काम गर्नुअघि उनले झन्डै दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरे । रत्नराज्यलक्ष्मी क्याम्पसमा संगीतको अध्ययन गर्दै निर्देशन तथा फिल्म एडिटिङको औपचारिक पढेका दिवाकरको भेट रेखा फिल्म्स्की रेखा थापा तथा निर्माता छविराज ओझासँग भएपछि यो व्यानरले निर्माण गर्न लागेको नयाँ फिल्म ‘किस्मत’ मा उनले निर्देशक उज्जवल घिमिरेको असिसटेन्टका रूपमा काम गरे । यो फिल्मपछि उनले ‘मर्यादा’, ‘डर’, ‘मयल’, ‘कालापानी’लगायतका दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम गरे ।
फिल्म ‘मेरो जीवन साथी’पछि उनी नायक निरज बरालले निर्माण गर्न लागेको फिल्म ‘स्टुपिड मन’मा महँगो पारिश्रमिकमा अनुबन्धित भए । झन्डै डेढ करोडको लागतमा निर्माण भएको यो फिल्म थाइल्याण्डमा छायाँकन गरिएको थियो । यो फिल्मपछि दिवाकर अभिनेता भुवन केसीको काजोल फिल्मस्मा महँगो पारिश्रमिकमा एसोसिएट गरेका थिए । उनी र भुवन केसीले बनाएको फिल्म ‘ड्रीम्स’मा अहिलेका मेघा स्टार अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनय गराए ।
दिवाकरले अभिनेता रमेश उप्रेती, अर्जुन श्रेष्ठले निर्माण गरेको ‘ ऐश्वर्य’ पनि निर्देशन गरे । दुई करोड पचास लाखमा निर्माण भएको फिल्मबाट प्रशान्त ताम्राकार र दीपिका प्रसाईं उदाए । महत्वकांक्षी र ठुलो क्यानभ्यासमा काम गर्न रुचाउने निर्देशकले अनमोललाई नै लिएर फूटबलको कथामा आधारित फिल्म ‘क्याप्टेन’ निर्देशन गरे । यहि फिल्मबाट निर्देशक भटराईले अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित फोर्थ ग्लोबल फिल्म अवार्डमा जुर्री अवार्ड पोल्टामा पारे ।
‘८ देखि १० लाख पारिश्रमिक लिएर काम शुरु गरेको मैले अहिले ३० लाखसम्म पारिश्रमिक लिन्छु । यो सबै मेरो मेहनत र निर्माताले म प्रति गरेको भरोसाको प्रमाण हो’, उनी भन्छन् । उनी आङ्खनो होम प्रोडक्सन ओम नमशिवाय प्रोडक्सनबाट फिल्म ‘तिमीसँगै हुने मन छ’ निर्माण गर्दैछन् ।