काठमाडाैं - चाडपर्व बिदापछि खुलेको शेयर बजार दोहोरो अंक ले बढेकाे छ । तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज साेमबार दोहोरोअंकले बढेको हाे ।
शेयरबजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।
दुई सय २४ वटा कम्पनीकाे २५ लाख ७४ हजार कित्ता शेयर ६९ करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएकाे छ ।
आज सयपत्री हाइड्रोको शेयर १० प्रतिशत र नेपाल एसबीआई बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि अपर हेवाखोला जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १७:३८