नवलपरासी– सुस्ता गाउँपालिका–४ स्थित नर्सही घोलामा डुंगा पल्टिँदा ३ जनाको सोमबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सोही गाउँपालिका–४ गोकुलनगर बस्ने २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ता रहेका छन् ।
घोलापारी रहेको पटनहियामा पिकनिक गई फर्किएका सुस्ता गाउँपालिका–४ गोकुलनगर बस्ने ५ जना डुंगामा चढी घोला तर्ने क्रममा अचानक डुंगा पल्टिएको प्रहरीले जनाएको छ ।
डुंगा पल्टिएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्दार गरी उपचारको लागि सहिदस्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु हो ।
घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानिको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १३:४९