काठमाडाैं - नेपाली खेलकुद जगतकी सफल खेलाडी तेक्वान्दो क्विन संगीना वैद्यलाई नेपाल मगर संघ, शाखा युएई द्वारा भब्य कार्यक्रमका साथ सम्मान गरेको छ ।
वैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई नेपाल मगर संघ, शाखा युएई द्वारा आयोजित बलिहाङ पर्बको शुभ अवसरमा देउसी भैलो, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नेपाली खेलकुद जगतकी सफल खेलाडी एबम एसियन च्याम्पियन तथा ओलम्पियन संगिना वैद्यलाई सम्मान गरेको हो।
वैद्य लाई कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजया लक्ष्मी राईले सम्मान पत्र हस्तान्तरण गरेकी हुन्। उनलाई विदेशी भुमिमासमेत पंञ्चे बाजा सहित भब्य स्वागत गरिएको थियो।
नेपाल मगर संघ, शाखा युएईकी कार्यबाहक अध्यक्ष मनु गाहा मगरले कार्यक्रममा बोल्दै वैद्यले नेपालमा खेलकुद क्षेत्रको विकास र विस्तारमा दिएको अतुलनीय योगदान र नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा समेत उच्च पार्न अहम भुमिका निर्वाह गरेकोले उनको खेल जिवनको उच्च मुल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको बताएका छन् ।
त्यसैगरी संघका महासचिव नयन घर्ती मगरले नेपाली खेलकुद जगतकी सफल खेलाडी एवम् प्रशिक्षक तथा राष्ट्रको लागि योगदान गर्दै देशलाई विश्व सामु चिनाउन सफल संगिना वैद्यलाई सम्मान गर्न पाउँदा खुशी भएकाे बताएकी छिन्।