नवलपरासी-पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ ।
वन जंगलमा खेर जाने सालको पातबाट दुना टपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला आत्मनिर्भर भएका हुन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो ।
यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरूपमा समेत फाइदा पुगेको छ । वनसँग सम्बन्धित विभिन्न गैरसरकारी संघ संस्था र सामुदायिक वनको सहकार्यमा तीन लाख १५ हजारको लागतमा सञ्चालित उद्योगबाट प्रारम्भिक चरणमा एक सय महिलाले रोजगार पाएको अमरज्योति सामुदायिक वनका अध्यक्ष टेकलाल रुचाल मगरले बताए ।
परम्परागत नेपाली दुना टपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । दुना टपरी जंगलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चा पदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ ।
‘दुनाटपरीको कच्चा पदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ’, मगरले भने, ‘आफ्नै वन पाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।’
हिन्दू संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने मगरको विश्वास लिइएको छ । वातावरणीय दृष्टिले कुरा बुझाउन सक्दा प्रयोग झन् बढ्छ ।
‘आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुनाटपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ’, उनले भने । सामुदायिक वनले १३ जना सदस्य रहेको उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाएको अध्यक्ष मगरले बताए ।
वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा ९आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण० उपसमितिले टपरी एक रूपैयाँ ४० पैसा र दुना ७० पैसामा खरिद गर्ने गरेको मगरले जानकारी दिए ।
उद्योग चलाउन सामुदायिक वनले गठन गरेको उपसमितिले उपभोक्ताले खरिद गरेर ल्याएको लाफालाई मेसिनबाट दुनाटपरी बनाएर बजारमा पठाउने गरेको छ । तयारी दुनाटपरी बजारमा पुग्दा दुनाको दुई रूपैयाँ ५० पैसा र टपरीको पाँच रूपैयाँ पर्ने गरेको छ ।
एक महिलाले अहिलेको अवस्थामा पाँचदेखि सात सय रूपैयाँसम्मको लाफा उपसमितिलाई बेच्ने गरेका छन् । सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएपछि उपभोक्ता महिला खुसी भएका छन् ।
दुनाटपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको वनकी उपभोक्ता बीमा नेपालीले बताइन् । ‘पहिले पहिले श्रीमानले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नून तेल, बच्चाको कापी किताब यसैबाट पुग्न लागेको छ’, नेपालीले भनिन् ।
सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ । विषेशतः जिल्लाको दलदले, कावासोती तथा छिमेकी जिल्ला चितवनको नारायणघाट बजारका होटल तथा रेष्टुरेन्टबाट माग आउने गरेको अध्यक्ष मगरले बताए ।
‘अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौं, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौं’, उनले भने, ‘पछिल्लो समय धार्मिक कार्यक्रमबाहेक होटल तथा रेष्टुरेन्टबाट माग आउने क्रम बढेको छ ।’
एक दिन जंगल गएर टिपेको पातले तीनरचार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घर व्यवहार चलाउन सहज भएको दुनाटपरी उद्योग सञ्चालनार्थ गठित उपसमितिकी अध्यक्ष टकमाया नेपालीले बताइन् ।
हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ १५:५९