काठमाडाैं - चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो ।
प्राधिकरणले विभिन्न चार जलविद्युत ग्रृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो ।
निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखू खोला ए, २५ मेगावाट क्षमताको काबेली बी–एक, २२ मेगावाटको माई खोला, १५ मेगावाट क्षमताको हेवा खोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो ।
त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखूखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलू खोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११ मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।
चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए । गत असोज २५ गतेसम्म भारतर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो । त्यसपछिको विवरण पनि आउने क्रममा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी त्यस अवधिमा रु सात अर्ब ९३ करोड २२ लाख खुद आम्दानी भएको थियो । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।
सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ गतेदेखि विभिन्न छ वटा जलविद्युत ग्रृहहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १८:१३