काठमाडाैं - नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ । आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनावी एजेण्डा बनाएको एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलङ्गामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नेछन् । चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको रिजालले बताए ।
चुनावी अभियानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कैलालीको सदरमुकाम धनगढी पुगिसक्नु भएको छ । ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर ओली आउँदो २७ गते काठमाण्डौ फर्किने कार्यक्रम छ ।
काठमाडाैं फर्किएपछि उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन गृह जिल्ला झापा जाने तयारी भएको एमालेले जनाएको छ । निर्वाचन आयोगले हिजोदेखि आउँदो मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने जनाएसँगै दलका शीर्ष नेतासहित उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ ०९:०७