जाजरकोट– जाजरकोटका सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएको हो ।
भोट बदर हुने संख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए । पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा मतदान गरिएको हो ।
यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मंसिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको छ ।
जिल्ला प्रशासनको आदेशमा सबै गतिविधि स्थागित गराइएको हो । मंसिर ४ हुने चुनावलाई लक्ष्य गर्दै सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले बताए ।
सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनका लागि पश्चिम जाजरकोटको वडावनमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ । उक्त क्याम्पबाट पश्चिम क्षेत्रको सुरक्षा व्यवस्था मजबुद हुने अपेक्षा गरिएको छ । अहिले रहेका सबै सुरक्षाका कार्यालय क्षेत्र नम्बर १ मै छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १०:२४