काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाउने खेलाडी निस्सिम थापाको अर्धकदको शालिक बनाउन सहजिकरण गर्ने बताएको छ ।
थापाको परिवारले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री नेपालीले खेलाडीका परिवारलाई क्षतिपूर्ति दिलाउन र अर्धकद शालिक निर्माणका लागि प्रदेश सरकारले सहजिकरण गर्ने बताएका हुन् ।
थापाको गत असोज ३० गते प्याराग्लाइडिङ खेलका क्रममा थापाको मृत्यु भएको थियो । उनी त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगितामा सहभागी भएका थिए।उनको मृत्युपछि आयोजक संस्थाले दिवङ्गत थापालाई मानार्थ गोल्डमेडल प्रदान गरेको थियो ।
साथै, उनको सम्मानमा पोखरा रङ्गशालामा अर्धकदको शालिक निर्माण गर्ने घोषणासमेत गरेको थियो । थापाको परिवारले निस्सिमका नाममा अक्षयकोष स्थापना गरी प्याराग्लाइडिङ खेलमा दुर्घटनामा पर्ने खेलाडीलाई आर्थिक सहयोग गर्नुपर्ने माग गरेको छ ।
सबै खेलाडीको जीवन बीमा गर्नुपर्ने समेत परिवारको माग रहेकाे छ । दिवङ्गत खेलाडीनिस्सिमका बुबा प्रकाश थापाले लागिराष्ट्रिय खेलकुद परिषद् र नेपाल एअर स्पोर्टस् एशोसिएशन र नेपाल सरकारका तर्फबाट प्राप्त हुनुपर्ने बीमावापतको रकम प्रदान गरिदिन आग्रह समेत गरेको ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ ११:३५