एजेन्सी– एलोन मस्कले ट्विटरको सबै खाले फेक अकाउन्ट बन्द गर्ने बताएको छ ।
ट्विटरका नयाँ मालिक मस्कले कुनै पनि नक्कली ट्विटर ह्यान्डल फेला परेमा सो अकाउन्टलाई स्थायी रूपमा बन्द गरिने मस्कले जानकारी दिएका हुन् ।
उनले यसअघिनै सो बारे चेतावानी गराइसकेको हुदा प्रमाणिकरण गरिसकेपछि सोझै फेक अकाउन्टलाई निलम्बन गरिने बताए।
‘पहिले, हामीले निलम्बन अघि चेतावनी जारी गरेका थियौं। तर अब हामीले व्यापक प्रमाणिकरण सुरू गरेपछि, त्यहाँ कुनै चेतावनी हुनेछैन। सोझै खाता निष्कृय पारिनेछ, यसलाई ट्विटर ब्लूमा साइनअप गर्ने शर्तको रूपमा स्पष्ट रूपमा मान्यता दिइनेछ,’ ट्विट गर्दै उनले भनेका छन्।
व्यापक प्रमाणीकरणले पत्रकारितालाई लोकतान्त्रिक बनाउने र जनताको आवाजलाई सशक्त बनाउने मस्कले दाबी गरेका छन्।
यसैबीच आठ डलर तिरेमा जो कोहीको नाममा फेक एकाउन्ट बन्ने र प्रमाणिकरण हुनेबारे मस्कले स्पष्ट पारेका छन्। ‘यस्ता नक्कली अकाउन्ट बन्द गर्नेछौ। पैसा पनि फिर्ता गर्दैनौं। लाखौंले यस्तो ठगी गरे भने हामीलाई सित्तैमा पैसा आउँछ।’एलोन मस्कका अनुसार यदि कुनै प्रयोगकर्ताले आफ्नो ह्यान्डलको नाम परिवर्तन गर्छ भने उसले अस्थायी रूपमा प्रमाणित निलो टिकसमेत गुमाउने स्पष्ट पारे।
ट्विटरले प्रमाणीकरण र निलो टिकको लागि स–शुल्क सेवा सुरू गरेको छ। एप्पलले ट्विटरको नयाँ निर्णयको बारेमा आफ्ना ग्राहकहरूलाई जानकारी दिन थालेको छ। अब एप्पलको एप स्टोरमा ट्विटर एप डाउनलोड गर्दा ट्विटर ब्लू सेवाका लागि प्रतिमहिना ७.९९ डलर तिर्नुपर्ने लेखिएको छ।
हाल ट्विटर ब्लूको सेवा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डमा मात्र उपलब्ध छ। ट्विटरले निलो टिक खाताले पाउने सुविधाहरूको सूची सार्वजनिक गरेको छ। कम्पनीले ट्विटर ब्लू ग्राहकहरूले कम विज्ञापनहरू प्राप्त गर्नेछन्, लामो भिडियोहरू पोस्ट गर्न सक्छन् र गुणस्तर सामग्रीको लागि प्राथमिकता श्रेणी प्राप्त गर्नेछन्।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १०:२६