एजेन्सी– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा). का पूर्व अध्यक्ष सेप ब्लाटरले विश्वकप २०२२ को आयोजना गर्न कतारलाई दिनु भुल भएको बताएका छन् । कतारलाई सन् २०१० मा विश्वकप आयोजनाको अधिकार दिँदा उनी त्यसबेला फिफाका अध्यक्ष थिए । अहिले आप्रवासी कामदार समलिंगी सम्बन्ध, मानव अधिकारप्रतिको दृष्टिकोणलाई लिएर खाडी देश भनेर चिनिने कतारको चर्को आलोचना हुँदै आएको छ ।
ब्लाटरले एक अन्तर्वार्तामा भनेका छन्, ‘कतार निकै सानो देश हो, फुटबल र विश्वकप योभन्दा निकै ठूलो छ ।’ विश्वकपको ९२ वर्ष लामो इतिहासमा यो प्रतियोगिताको आयोजना गर्ने कतार पहिलो मध्यपूर्वको देश हो ।
ब्लाटरले भनेका छन्, ‘यो निकै खराब निर्णय थियो र तत्कालीन अध्यक्षको आधारमा म यसको जिम्मेवारी भने लिन्छु । अमेरिकाको स्थानमा कतारमा विश्वकप आयोजनाको अधिकार जानु पछाडि प्लाटिनी र उनको टिमको भूमिका थियो । यो सत्य हो ।’ ब्लाटरका अनुसार यही कारणले सन् २०१२ मा फिफाले विश्वकप आयोजक देशको छनोटका लागि फरक मापदण्ड बनाएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९ १०:२५