बर्दिबास–शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बिद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा बर्दिवास नगरपालिकाले आयोजना गरेको ‘बर्दिवास शिक्षा सम्मेलन’ मा मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सवलिकरणको लागि शिक्षालाई गुणस्तर बनाउन र सार्वजनिक बिद्यालयको गुज्रिदै गरेको समस्यालाई सम्बोधन गर्न विद्यालय मर्जर अहिलेको आवश्यकता रहेको बताए । उनले विद्यालयहरू धेरै खुले पनि गुणस्तर नभएका कारण पनि मर्जर आवश्यक रहेको बताए । शैक्षिक गुणस्तर बृद्धिको लागि, सुधारको लागि, शैक्षिक क्षेत्रमा देखिएको चुनौति र समाधानका विद्यालय मर्जर आवश्यक उनको भनाई थियो ।
अहिले सरकारले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएको बताउँदैे प्राविधिक र व्यवसायिक शिक्षाले देश विकासमा कायापलट हुने उनको धारणा थियो । उनले यस्तो प्रकारको शिक्षा सम्मेलन सबै स्थानीय तहमा गर्नु जरुरी रहेको बताए ।
उनले सरकारले सार्वजनिक विद्यालयको सवलीकरणको लागि दशकिय अभियान सुरु गरेको र यो अभियानमा सबैको सहयोग अपरिहार्य भएको बताए । उनले भने, ‘सार्वजनिक विद्यालयको सवलीकरणको लागि अभियानमा सबैको सहयोग अपरिहार्य छ ।’
मन्त्री पोखरेलले विद्यालयमा शिक्षक अभावलाई परिपुर्ती गर्न सरकारले दरवन्दी थप गर्न शिक्षक सिकाई अनुदान र स्वयं सेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको पनि जानकारी गराए ।
कार्यक्रममा बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कुमार कार्कीले बर्दिवास नगरलाई यस क्षेत्रकै शैक्षिक हव बनाउन नगरले काम गरिरहेको जानकारी गराए । उनले सार्वजनिक विद्यालय सवलीकरण पहिलो प्राथमिकता रहेको बताउँदै यसमा नगरपालिका लागी परेको बताए ।