नेपालमा यस वर्ष सबैभन्दा उच्च बनेको डेंगु संक्रमणको क्रम अझै रोकिएको छैन । वर्षायाम सकिएसँगै केही कम भएको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो तीन दिनमा
९१४ नयाँ संक्रमित थपिएसँगै बुधबारसम्म डेंगु संक्रमितको संख्या ५१ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
तीन दिनमा थप दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै डेंगुबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३९ हजार ६२४ जना डेंगुका संक्रमित छन् । लुम्बिनी प्रदेशमा चार हजार ९१८, प्रदेश १ मा दुई हजार ८५, गण्डकी प्रदेशमा एक हजार ७२१, सुदूरपश्चिम प्रदेशमा ८९६ र कर्णाली प्रदेशमा ६७६ जना संक्रमित भइसकेका छन् ।
यस्तै डेंगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौंमा १३ हजार ७८७, ललितपुरमा नौ हजार ५२२, भक्तपुरमा पाँच हजार ४८९, मकवानपुरमा पाँच हजार ३४७, चितवनमा दुई हजार ६२७, दाङमा दुई हजार ३८८, धादिङमा एक हजार ४११ र रूपन्देहीमा एक हजार १९५ संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा यस वर्ष सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका हुन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । चिकित्सकहरूका अनुसार पानी जम्ने
सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ ।
वर्षायाममा कुनै समय एक हप्तामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । पछिल्लो समय मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएकोले डेंगुको संक्रमण केही कम हुँदै गएको देखिएको थियो ।
तर, तीन दिनयता फेरि संक्रमण बढेको तथ्यांकले डेंगु संक्रमणको जोखिम अझै कायम रहेको देखाउँछ । त्यसैले सतर्कता र रोकथामको कार्यलाई अझै निरन्तरता दिन आवश्यक छ
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन् ।
त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा ९१७ जना, २०१३ मा ६८६ जना, २०१६ मा एक हजार ५२७ जना, २०१७ मा दुई हजार १११ जना, २०१८ मा ८११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ । तीमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार ९९२ जनामा डेंगुका बिरामी देखिएका थिए ।
त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको थियो । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी देखिएका थिए । यो वर्ष डेंगुको संक्रमण ह्वात्तै बढेर संक्रमितको संख्या ५१ हजार पार गरिसकेको छ । यस कारण डेंगु संक्रमणको जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता
प्रस्ट्याउँदछ ।
चिसो मौसममा संक्रमण केही घटे पनि जोखिम कम भइनसकेको चिकित्सकहरूले बताइरहेका छन् । त्यसैले डेंगु संक्रमण रोकिएको भनेर ढुक्क हुने अवस्था छैन । संक्रमणको
लहर फेरि दोहोरिनसक्नेतर्फ सरोकारवाला सबै सचेत बन्न जरुरी छ । संक्रमणको जोखिमलाई कसैले बेवास्ता नगरौं ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ ११:३२