मोरङ - चुनावी प्रचारप्रसारमा लागी परेकी उम्मेदवार रेखा थापाले मतदाताहरुलाई प्रश्न गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले 'पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने' भन्दै मतदातालाई प्रश्न गरेकी हुन् ।
थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन् 'पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो ।
आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्कोलागी जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?' थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय वरवाद गर्न नहुनेमा उनले जोड दिएकी छन् ।
उनले भनिन् 'म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दाबाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यी नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाह छैन ।'
उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन 'काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाइको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईँलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दाबाद, जिन्दाबाद गर्दै ?'
थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन् 'जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ ।
पाँच वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईँहरूको सेवक बन्न आएकी हुँ । म माथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमती दिनुहोस् भन्न आएको हुँ ।'
नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस-जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन्। उनले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् ।
थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ । उनले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले थापाको सम्भावना बढ्दै गरेको पाउन सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १६:४२