सर्लाही - गठबन्धनका उम्मेदवारविरुद्ध गतिविधि गरेको भन्दै नेपाली कांग्रेस सर्लाहीले १९ जनालाई तीन दिने स्पष्टीकरण सोधेको छ । आधिकारीक उम्मेदवारविरुद्ध विपक्षीलाई सहयोग हुने गरी काम गरेकोले कांग्रेसको विधान बमोजिम ३ दिनभित्र स्पष्टीकरण दिन विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
स्पष्टीकरण सोधिएकामा सबै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ का हुन । गठबन्धनका कारण सर्लाहीमा ४ नम्बर क्षेत्रमा मात्र कांग्रेसले प्रतिनिधिसभा सदस्यमा भाग पाएको छ । सो क्षेत्रबाट कांग्रेसका निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार उम्मेदवार छन् ।
जिल्ला अनुशासन समितिका संयोजक एवं पार्टी उपसभापति डा सराेज कुमारले हस्ताक्ष गरेर पठाइएको पत्रको बोधार्थ केन्द्रीय अनुशासन समिति र मधेस प्रदेश अनुशासन समितिलाई पनि पठाइएको छ ।
स्पष्टीकरण सोधिएकामा रविनन्दन चौधरी, काशिकान्त सिंह, प्रविणकुमार सिंह, उदयकान्त झा, मनोजकुमार सिंह, रामबाबु राय, मणिभुषण सिंह, बच्चाबाबु सिंह, उषा देवी, विनोद राय यादव, जोगी सहनी, रामगोविन्द राय, जितेन्द्र यादव, रमेश रिजाल, लखेन्द्र महतो, रामदरेश महतो, हुलास महले, संजयकुमार महतो र रिता कटुवाल छन् ।
आधिकारीक उम्मेदवारविरुद्ध लागेको भनेर स्पष्टिकण सोधिएकामा वडासभापति, क्षेत्रीय प्रतिनिधि, वडाध्यक्ष, वडा सदस्यसमेत छन् ।पार्टी उपसभपति डा सरोजले कांग्रेसको आवरणमा गठबन्धनका उम्मेदवारविरुद्ध लागेको देखिएपछि स्पष्टीकरण सोधिएको बताए ।
‘पार्टीको खोल ओढेर पार्टीको निर्णयविरुद्ध लाग्ने छुट कसैलाई छैन,’ उनले भने, ‘सुध्रने मौका छ । सुधार नभए पार्टीको आवरणमा पार्टीलाई नै असहयोग गर्नेलाई हामी कारबाही गर्छाैं ।’उनले सबैलाई पत्र बुझाउने प्रयास गर्दा पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाइएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १७:३२