काठमाडाैं - लोक रक ब्याण्ड नेपथ्यले आफ्ना गीत ‘भट्भटे’ सार्वजनिक गरेकाे छ । समाज र परिवेशलाई समेट्न जहिल्यै तयार हुने नेपथ्यले शुक्रबार ‘भटटट भटटट भट्भटे आयो, बाटो छोड् छोड् छोड्’ शब्दमा मोटरसाइकल यात्रामा आधारित नयाँ गीत ‘भट्भटे’ सार्वजनिक गरेका हुन् ।
यस परिवेशमा अन्य मुलुकमा थुप्रै गीत रहेको भए पनि नेपालमा भने रोड ट्रिपमा आधारित गीत पहिलो पटक ल्याएको नेपथ्यले बताएको छ ।
‘धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतिसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ । अर्थात्, अब तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गर्दैछ,’ नेपथ्यले भनेको छ ।
नेपथ्यले एघारौं एल्बममा १० गीत समेटिने जनाएकाे छ । नेपथ्यका गायक अर्मत गुरुङले आफू पनि कुनै समयमा मोटरसाइकल धेरै कुदाउने गरेको र सोही अनुभवलाई गीतमा उतारेको बताएका छन् ।
गीतको भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लस्कर पनि भिडियोमा प्रस्तुत गरिएकाे छ ।
याे गीतको भिडियोको छायांकन र सम्पादन मोहन पुनमगरले गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १८:४५