हेटौँडा -बाग्मती नदीमा एक लाख माछाका भुरा छाडिएका छन् । प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बाग्मती नदीमा एक लाख माछाका भुरा छाडिएको छ ।
मकवानपुरको बाग्मती गाउँपालिकास्थित झुरझुरेमा बाग्मती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रको कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।
सो कार्यालयको आयोजनामा बाग्मती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानद्वारा संयुक्तरूपमा माछाका भुरा नदीमा छाडिएको हो ।
प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए ।
नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कूल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए ।
उक्त कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार माछाका भुरा, मकवानपुरको सामरी नदीमा पनि ३४ हजार माछाको भुरा चालु आर्थिक वर्षमा छाडेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १८:५७