नेपालगंज-
आगामी माघ ८ गते देखि नेपालगंजमा नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिभल हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने उक्त फेस्टिवलमा स्थानीय संघ संस्थाहरुको सहकार्य
हुनेछ ।
फेस्टिवलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धि कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछ । विद्यार्थीहरुका लागि अलग्गै कार्यशाला संचालन गरिनेछ भने १ दिन सार्वजनिक मैदानमा पनि फिल्म प्रदर्शन गरिनेछ । २ दिनसम्म चल्ने उक्त फेस्टिवलमा राजधानी काठमाण्डौवाट डकुमेन्ट्री निर्माता एवं फिल्म निर्देशकहरु समेत सहभागी हुनेछन् । ‘फेस्टिवलको आयोजनाले यस क्षेत्रको इश्युसमेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ’ अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘फेस्टिवलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताहरुका लागि कोशेढुंगा सावित हुनेछ ’
फिल्मको संयोजन वरिष्ठ डकुमेन्ट्री निर्माता हरि थापाले गरिरहनुभएको छ । गहन विषय वस्तु बोकेका र चर्चित डकुमेन्ट्री तथा फिल्महरु फेस्टिवलमा समावेश हुनेछन् । जसमध्ये मध्य तथा सुदूरपश्चिमका विषयवस्तुहरुमा वनेकालाई प्राथमिकता दिइनेछ । समृद्ध मध्य पश्चिम र सुन्दर सुदुरपश्चिमको नारालाई सघाउनु पनि फेस्टिवलको उद्देश्य हो ।
फिल्म फेस्टिवलमा समावेश डकुमेन्ट्री तथा फिल्महरुको जानकारी सहित १ साता भित्र पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ ।
फेस्टिवल सफल पार्नको लागि अन्तरालले राजनीतिक दल, नागरिक समाज, विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु, विद्मार्थी लगायत सवैमा समस्त संचारकर्मीहरुलाई अनुरोध गरेको छ ।