काठमाडाैं - प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो । एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए ।
बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा १ सय ७९ रनमा अल आउट हुँदै एक सय ७९ रन बनायो । ढिला सुरु भएका कारण खेल ४० ओभरमा झारिएको थियो ।
आर्मीका लागि रोहित पौडेलले ४९, जितेन्द्र मुखियाले २४ र सुशन भारीले १९ रन बनाए । एपिएफका र मौसम ढकाल र अमरसिँह राउटेलाले ३/३ विकेट लिए । प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले १० लाख रुपैयाँ तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार पायो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ ०८:४४