एजेन्सी– टिकटकले अब लाइभ गर्नका लागि अब १८ वर्ष पुगेको हुनु पर्ने नियम लागू गर्ने भएको छ । यो नियम आगामी महिनाबाट लागू हुने भनिएको छ ।
टिकटकले लाइभस्ट्रिमिङको लागि न्यूनतम उमेर १६ वर्षबाट बढाएर १८ वर्ष बनाएको हो ।
हालै बीबीसीले गरेको खोजका क्रममा सिरियाली शरणार्थी शिविरहरुबाट सयौंको संख्यामा बालबालिकाले टिकटकमा लाइभ गरेर आर्थिक सहयोग मागिरहेको तथ्य पत्ता लगाएको थियो । त्यसरी लाइभ आए सहयोग माग्नेहरुले घण्टामै एक हजार डलरसम्म कमाउने गरेका थिए । तर उनीहरुले त्यसरी संकलन गरेको रकम झिक्ने क्रममा टिकटकले ७० प्रतिशतसम्म रकम लिएको थियो ।
टिकटकका अनुसार अब अर्को महिनादेखि टिकटकमा केवल बालिगहरुले मात्रै लाइभस्ट्रिमिङ गर्न, भर्चुअल गिफ्ट पठाउन वा अकाउन्टलाई मनिटाइजेसन गर्न सक्नेछन् । साथै भविष्यमा बालिगहरुले मात्रै देख्न सक्ने गरी समेत लाइभ स्ट्रिमिङ गर्न सकिनेछ । यद्यपि टिकटकले उमेरमा लगाएको उक्त पावन्दी कसरी कार्यान्वयन गर्छ भन्ने कुरा प्रष्ट भएको छैन ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १५:०२