काठमाडौ– गीतकार सुनिता बस्नेतको गीतमार्फत् संगीतकारको परिचयमा बजारमा परिचित रहेका सुनिल मास्के २७ वर्षपछि गायनमा फर्किएका छन् ।
गीतकार सुनिता बस्नेत थापाको गीतिसंग्रह ‘सुरबी’मार्फत २७ वर्षपछि सुनिल मास्के गायनमा फर्किएका हुन् । गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटाको प्रमुख आतिथ्यता एवं डा. कृष्णहरी बराल, डा.राजुबाबु श्रेष्ठ, राजनविक्रम थापालगायतको विशेष आतिथ्यतामा सुनिता बस्नेतद्वारा रचित एल्बम सुरबी र कवितासंग्रह विम्ब सार्वजनिक गरिएको थियो । सुरुवातमा बाँसुरी बजाएर साथीभाइ सर्कलमा प्यारो बनेका सुनिल मास्केले २७ वर्षअघि गीत गाएर एल्बम नै बजारमा ल्याएका थिए । त्यसपछि निरन्तर संगीतमा लागेका मास्केले ५० को दशकपछि कुमार कान्छाको स्वरमा रहेको ‘मैले रोजेको साइली तिमीलाई’ गीत बजारमा ल्याएका थिए ।
त्यसपछि बेला बेलामा आफ्ना संगीतहरू बजारमा छाड्दै आएका मास्केले ०६८ सालमा सुनिभा एल्बम बजारमा ल्याएपछि निरन्तर आफ्नो एकल संगीतमा ९ वटा एल्बम बजारमा ल्याइसकेका छन् । सार्वजनिक एल्बम ‘सुरबी’ संगीतकार मास्केको नवौं एकल संगीत भएको एल्बम हो । संगीत र प्रदीप श्रेष्ठको एकल संगीत संयोजन रहेको छ । एल्बममा सुनिल मास्के, शिव परियार, विश्व नेपाली, वानिका प्रधान, मेलिना राई र अस्मिता अधिकारीको स्वर रहेको छ । एल्बममा रहेका गीतको मिक्सिङ तथा मास्टरिङ भने किशोर थापाले गरेका हुन् ।
कार्यक्रममा सुनिता बस्नेत थापाले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा आफ्ना भावना व्यक्त गरेकी थिइन् भने कवि तथा गीतकार राजनविक्रम थापाले सुनिताको विम्ब कवितासंग्रहबाट एउटा कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार पद्यमावती सिंह र हिरण्य कुमारी पाठकले समेत शुभकामना दिएका थिए ।