लगातार ओरालो लाग्दै अएको अर्थतन्त्रमा सुधार देखिएको छ । नकारात्मक बनिरहेका आर्थिक सूचकहरुमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै आर्थिक सूचकहरुमा सुधार आएको उल्लेख गरेको छ । लगातार घाटामा रहेको सोधनान्तर स्थिति बचतमा आएको छ । विदेशी मुद्राको सञ्चिति पनि बढेको छ ।
व्यापार घाटाको आकडा घटेको छ भने मुलुकमा भित्रिने रेमिट्यान्स करिब १७ प्रतिशतले बढेको छ । यी सूचकहरुले अर्थतन्त्रमा सुधारको सकारात्मक संकेत देखाएको छ ।
त्यसो त वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण तथा आयातमा गरिएको कडाइका कारण शोधनान्तर स्थितिमा सुधार आएको अर्थविद्हरुको भनाइ छ । लामो समयदेखि शोधनान्तर घाटा गएपछि सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गरेको छ ।
राष्ट्र बैंकले पनि आयात घटाउने नीतिगत व्यवस्था लागू गरेको छ । यही कारण पछिल्ला महिनामा शोधनान्तर स्थितिमा सुधार हुँदै गएको हो । यद्यपि, देशबाट बाहिरिनेभन्दा भित्रिने रकम बढेसँगै सरकारले राहतको श्वास फेर्न पाएको छ ।चालु आवको तीन महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको असोज मसान्तसम्ममा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा नौ करोड १८ लाखले बचतमा छ ।यता चालु खाता भने अझै घाटामै रहेको छ । तर, घाटाको आकडा भने उल्लेख्य घटेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।केही वस्तुको आयातमा गरेको कडाइ गरेको परिणाम विदेशी मुद्राको सञ्चितिमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।
गत आवको सोही अवधिको तुलनामा कूल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । यसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामासमेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधार भएको पाइएको हो । अघिल्लो आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर थियो ।
पछिल्लो तीन महिनामा दुई खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले बढी हो । अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार मूल्यवृद्धि भने अझै अनियन्त्रित रहेको छ । पछिल्लो महिनाको मूल्यवृद्धि ८.५० प्रतिशत कायम भएको छ ।आर्थिक सूचकहरुमा आएको केही सुधारलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, यो सुधारको क्रम जारी रहनेमा अझै ढुक्क भइहाल्ने स्थिति छैन । किनकि, यो सुधार पर्याप्त छैन र यसलाई निरन्तरता चुनौती कायमै छ । त्यसैले आगामी चुनौती पहिल्याउँदै कडा नीति अवलम्बन गर्न जरुरी छ । चुनौतीको बेवास्ता नगरियोस् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ १८:१८