दुई दिनपछि २ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा छ । गएरातिदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू गरेको हो, जुन बिहीबार राति १२ बजेदेखि सुरु भएको छ ।
यस अवधिमा निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन । सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतमा पनि निर्वाचन प्रचार तथा मतदातालाई प्रभावित पार्ने खालका सामग्री प्रकाशन÷प्रसारण गर्न पाइँदैन । आयोगले मौन अवधिमा तोकिएका प्रतिबन्ध पालना नगर्नेमाथि कारबाही गर्ने स्पष्ट पारिरहेको छ ।
मतदानको दिन नजिकिँदै गर्दा मतदाताहरु उत्साहित छन् । आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुन्ने अवसर हो यो । मुलुक र जनताको भविष्य निर्धारण गर्ने अवसर पनि । त्यसैले मतदाता आफूले चाहेको उम्मेदवारलाई विजयी गराउन तयार भएका छन् ।
तर, हरेक निर्वाचनमा सुरक्षाको विषयलाई लिएर मतदाता सशंकित हुने गर्दछ । यसपालि सरकारले निर्वाचन सुरक्षाका लागि पर्याप्त व्यवस्था गरेको बताइरहेको छ । बिहीबारमात्रै गृहमन्त्री बालकृष्ण खाणले निर्धक्कसँग मतदानमा सहभागी हुन मतदातासमक्ष अपिल गरेका छन् ।
यसपालि आजसम्म विगतको निर्वाचनमा जस्तो अप्रिय घटना घटेको छैन । यद्यपि, चुनाव केन्द्रित सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको र मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्न सकिने अवस्था सिर्जना गरेको सरकारी दाबीलाई देशका विभिन्न ठाउँमा घटेका घटनाहरूले खण्डित गरेको छ ।
बुधबार प्रदेश १ को पहाडी जिल्ला भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ मा बम विष्फोट भयो । बुधबार नै चितवन–२ को पुरानो मेडिकल कलेज रोडमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भयो ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडी तोडफोड भएको थियो । दार्चुला, गोरखालगायत जिल्लामा विभिन्न पार्टीका कार्यकर्ताबीच कुटपिटका घट्ना भए । यी घटनाले सुरक्षा सतर्कता थप बढाउनुपर्ने दबाब सरकारलाई दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले स्थानीय चुनावमा ७० वटा घटना भएको र यसपटक धेरै कम हुनुले चुनाव शान्तिपूर्ण रूपमा हुने भन्दै मतदातालाई भयरहितरूपमा मतदान केन्द्र पुगेर मत जाहेर गर्न आग्रह गरे ।
उनले चुनाव बहिष्कार गर्ने घोषणा गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरूलाई उच्च निगरानीमा राखेकाले चुनावमा केही नहुने दाबी गरे ।
उनका अनुसार चुनावको दिन हवाई गस्तीसमेत हुनेछ । विष्फोटक पदार्थ निष्क्रिय पार्न ‘डिस्पोजल’ टोली परिचालन गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाखको संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।
गृह मन्त्रालयका अनुसार नेपाली सेनाका ७१ हजार, नेपाल प्रहरीका ७१ हजार ६९३ र सशस्त्र प्रहरीका ३५ हजार जनशक्ति चुनावमा खटाइएको छ । यस्तै, म्यादी प्रहरी एक लाख १५ हजार जना भर्ना गरी खटाइएको छ । साथै, राष्ट्रिय अनुसन्धान मातहतका सुरक्षाकर्मी चुनावमा खटिएका छन् ।
अहिलेसम्म केही सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण छ । अब मतदान हुने दिनसम्म यसलाई कायम राख्न सरोकारवाला सबै निकाय सक्रिय हुनुपर्छ । जनताले भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था बनाऔं । मतदातालाई कुनै किसिमले प्रलोभनमा पार्ने वा डर, धाक, धम्की दिई दबाबमा पार्ने कार्य भए तत्काल कारबाहीको व्यवस्था गरौं ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ ११:०७