काठमाडौं – डच फुटबल एसोसियसनले खेलाडीले लगाउने जर्सी लिलाम गरी उठेको रकम कतारमा कार्यरत आप्रवासी श्रमिकको अवस्था सुधारमा खर्च गर्ने भएको छ ।
कतारमा फिफा विश्वकप–२०२२ का लागि रंगशाला निर्माण गर्ने आप्रवासी कामदारमाथि श्रम शोषण भएको औंल्याउँदै एसोसियसनले उक्त निर्णय गरेको हो ।
कतारमा यही नोभेम्बर २० देखि विश्वकप सुरु हुँदैछ ।रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारहरूले पारिश्रमिक नपाएको, ज्यान गुमाउनुपरेको र अंगभंग भएको सम्बन्धमा क्षतिपूर्ति नपाएको अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले आवाज उठाइरहेको सन्दर्भमा एसोसिएसनले जर्सी लिलामी गरी उक्त विषयलाई सम्बोधन गर्ने जनाएको हो ।
डच फुटबल एसोसियसनले निकै अगाडिदेखि कतारमा विदेशी श्रमिकमाथि हुने विभेदको विरोध गर्दै क्षतिपूर्ति दिनुपर्ने अवाज उठाउँदै आएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेअनुसार एसोसियसनले आफ्ना खेलाडीहरुसँगको छलफलपछि उक्त निर्णय लिइएको बताएको छ ।
रोयटर्सका अनुसार खेलाडीले लगाउने जर्सी अनलाइनमार्फत लिलामी गरेर उठेको रकम कतारमा कार्यरत आप्रवासी श्रमिकको अवस्था सुधारका लागि खर्च गर्ने जनाइएको छ ।
डच फुटबल टिमका कप्तानले कतारमा रंगशालाहरु बनाउन, अन्य संरचनाहरु तयार पार्न, होटल र आवासस्थलहरु बनाउन निक्कै कठिन अवस्थामा विदेशी श्रमिकहरुले काम गरेको बताएका छन् ।
विदेशी श्रमिकको योगदानलाई आफूहरुले हरेक गतिविधिमा सम्झिने भन्दै उनले कतारमा रहेको अवस्थाको सुधार हुनुपर्नेमा जोड दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ ०९:२६