नेपालगञ्ज- बिकासको फड्कोसँगै बिभिन्न व्यवसायहरु ओझेल पर्ने गर्दछन् । यसलाई स्वभाविकरुपमै लिनु पर्दछ तर यो स्वभाविकताले गरिव मजदुरहरुका भने बेहाल हुने गर्दछ । प्रसंग नेपालगञ्जको रिक्शा व्यवसायको हो ।
नेपालगञ्ज शहर यस्तो शहर हो, जहाँ १÷२ बर्ष अगाडी सम्म सडकभर ३ पांग्रे रिक्शा चल्थे । चाहे नेपालगञ्जको टन्टलापुर घाम होस्, चाहे कठाग्रिंने जाडो—धेरैको रोजाई हुन्थ्यो त्यहि रिक्शा । जुन साधनलाई सजिलो साधनको रुपमा मात्र लिईन्थेन नेपालकै सस्तो साधनको रुपमा पनि लिईन्थ्यो तर अहिले अवस्था बदलिएको छ । ति रिक्शाहरु अव लोप हुने अवस्थामा छन् किनकि व्यक्तिले दुःख गरेर तान्ने ति रिक्शाहरुको बिकल्पको रुपमा ईरिक्शा नेपालगञ्जका सडकभर भरिएका छन् ।
व्यक्तिले दुःख गर्नु नपर्ने भएपछि हुनेखाने रिक्शा चालकहरु त ईरिक्शा चालक भए गरिब चालकहरु भने त्यहि रिक्शाको भर पर्दै खुट्टा खियाउँदैछन्, पसिना चुहाउँदैछन् तर यात्रुहरुको रोजाई अव चाँडो हुईंकिने ईरिक्शा बन्न थालेको छ । न नयाँ रिक्शा चलाउन सकिन्छ, न अन्य कामनैं गर्न सकिन्छ, जेनतेज जति कमाई भएपनि पुरनौं रिक्शा चलाईरहेको छु —रिक्शा चालक राजु गोडिया भन्छन् — गुजारा मात्र चलिरहेको छ । जब देखि इलेक्ट्रोनिक रिक्सा आयो तब देखि आफू जस्ता रिक्सा चलाउनेहरु मारमा परेको उनको भनाई छ । १२ बर्ष देखि रिक्शा चलाईरहेका गोडियाका अनुसार, दैनिक ७०० हाराहारीको कमाई हाल ३०० म झरेको छ ।
अर्का रिक्सा चालक हरिहर थारुको समस्या पनि राजुको जस्तै छ । उनि सुर्यपटुवा बर्दियामा देखि नेपालगन्ज रिक्सा चलाउन आएका हुन् । घण्टौं कुर्दा पनि यात्रु नपाउने गरेको गुनासो उनले गरे ।
हजारौंको सँख्यामा रहेका ३ पांग्रे रिक्शा अहिले घटेका छन् भने बिभिन्न मोडेलका ईरिक्शाहरुको सँख्या दिनहुँ बढिरहेको छ । जसबाट निम्न आय भएका रिक्शा मजदुरहरुको व्यवसाय चौपट भएको छ । यसबारे रिक्शा सम्बद्ध सँघ, सँगठनहरुको ध्यान जान नसकेको रिक्शा चालकहरुको भनाई छ । उनीहरुले आफ्नो व्यवसायको सुरक्षा माग गरेका छन् । आफ्नो रोजिरोटीको एक मात्र माध्यम रिक्शा भएकाले ईरिक्शा र रिक्शाका लागि बाटो फरक, फरक पारिदिनु पर्ने माग छ ।