आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । तर, अपेक्षाकृत मतदाताले मतदानमा सहभागिता जनाएनन् ।
निर्वाचन आयोगले करिब ७० प्रतिशत मतदान हुने अपेक्षा गरेको थियो । उक्त अपेक्षा करिब ६१ प्रतिशतमा सीमित भएको प्रारम्भिक विवरण छ । यो १५ वर्षयताकै न्यून हो । यसले चुनावप्रति मतदाताको आकर्षण किन घटिरहेको छ भन्ने गम्भीर प्रश्न जन्माएको छ । त्यसो त गत स्थानीय तहको निर्वाचनमा पनि अपेक्षाकृत मतदान हुन सकेको थिएन ।
मुलुकमा व्यवस्था फेरिए पनि अवस्था नफेरिएकोप्रति आमजनता निराश बनेका छन्, जुन यो निर्वाचनको सहभागिताले पनि प्रस्ट पारेको छ । प्रमुख दलहरुले चुनावमा गरेका वाचाअनुरुप काम नगर्नु यसको मुख्य कारण देखिन्छ ।
अघिल्लोपटकको चुनावमा दलहरुले स्थिर सरकार र मुलुकको समृद्धिको नारा अघि सारेका थिए । जनताले सोही विश्वासमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनलाई झण्डै दुई तिहाइको अवस्थामा पु¥याइदिएको थियो ।
तर, उक्त दलभित्रको किचलोले गर्दा तीन वर्षमै सरकार परिवर्तनमात्र भएन दुई–दुई पटक संसद् विघटन गरियो । विकास र समृद्धिको नारा नारामै सीमित रह्यो । जसकारण जनतामा वितृष्णा बढेको बुझ्न सकिन्छ ।
यसपालिको निर्वाचनमा ठूला दलहरुलाई जनताले ठूलो झापट दिने लक्षण देखिन्छ । परम्परागत दलहरुबाट वाक्क भएका मतदाता विकल्पको खोजीमा रहेको कुरा स्थानीय तह निर्वाचनमा पनि देखिएको थियो । उक्त निर्वाचनमा केही मुख्य स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरुको सफलतासँगै मतदाता वैकल्पिक शक्तिको खोजीमा थप हौसिएका थिए ।
जनताले खोजेजस्तो उपयुक्त विकल्प नभए पनि केही नयाँ दलले यो अवसरको भरपुर उपयोग गर्ने सम्भावना बढेको छ । अबको संसद्मा केही नयाँ दलको प्रवेश हुने निश्चित जस्तै देखिन्छ । यद्यपि, मत परिणाम आइनसकेकोले यसको ठोकुवा गर्न सकिन्न । तर पनि परम्परागत दलहरुका लागि यसपालि अनपेक्षित नतिजा प्राप्त हुने देखिन्छ ।
यो निर्वाचनको सम्भावित परिणामले एकातिर दलहरुलाई सच्चिनका लागि पाठ सिकाउने देखिन्छ भने अर्कोतिर मतदाताको चेतना बढ्दै गएको पुष्टि गर्दछ । विगतमा जस्तो निरन्तर एउटै पार्टीलाई मत दिने प्रवृत्तिमा सुधार आएको संकेत यसले गर्दछ, जुन सकारात्मक छ । त्यसो त नयाँ मतदाताहरुको भूमिका पनि यसमा महत्वपूर्ण रहेको छ ।
विशेषगरी युवा मतदाताहरुले खोजी गरिरहेको विकल्पको परिणामको रुपमा पनि यसलाई लिन सकिन्छ ।मतदान सम्पन्न भएर मत गणनाको क्रम सुरु हुँदै छ । जनताले अभिव्यक्त गरेका मत बन्द बाकसबाट खोल्दै जाँदा त्यसबाट परिणाम कस्तो निस्कन्छ, त्यो प्रतीक्षाकै विषय बनेको छ ।
अबको केही दिनभित्रै नतिजा बाहिर आउनेछ । परिणाम जस्तोसुकै आए पनि, जुन दलले बढी सिट जिते पनि वा जुन दलले जति सिट गुमाए पनि अब सबैले यो निर्वाचनको परिणामलाई गतिलो पाठको रुपमा लिएर अगाडि बढ्ने अपेक्षा छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १०:३६