धार्मिक हिसाबले हेर्ने हो भने विश्वमै नेपाल अत्यन्तै गौरव गर्न लायक मुलुक हो । यहाँ एक धर्मले अर्को धर्ममाथि देखाउने सहिष्णुतालाई विश्वले अपनाउन खोजेको छ । अन्य मुलुकहरूमा धर्मका नाममा मारामार काटाकाट भइरहेको छ । तर, नेपालमा भने एक धर्मले अर्को धर्मप्रति देखाएको सदासयता कहिल्यै बिर्सन नसकिने खालको छ । यहाँ धर्मका नाममा कोही तल, माथि गरिएको छैन । एक धर्मले अर्को धर्मलाई स्वीकार गरेको अवस्था छ । यो चलन आज बनाइएको नभएर सदियौँदेखि चल्दै आएको चलन हो । हिजो जो जस्ले जे धर्म मान्यो, त्यसमा कोही कसैको हस्तक्षेप छैन । यत्तिका मिल्दो मुलुक नेपाल भएकाले नै नेपाललाई विश्वकै अनुपम मुलुकका रूपमा चिनिँदै आएको देखिन्छ । यहि चलन विश्वका कतिपय मुलुकले अपनाउन चाहे पनि उनीहरूले आफ्नो जनताको मनमा धार्मिक सहिष्णुता जगाउन नसक्दा धर्मका नाममा लाखौँ जनताले ज्यान गुमाइरहेको देखिन्छ । यसै कारणले नेपालले विश्वमै धार्मिक सहिष्णुताको सन्देश लिएर निस्कनुपर्ने भएको छ ।
नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएकाले नै आजसम्म मुलुकमा धार्मिक युद्ध कहिल्यै पनि आएको छैन । तर, अहिले केही समूहले धर्मका नाममा युद्ध चाहेका छन् । नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएकाले त्यसप्रति नेपालले मात्र नभएर विश्वले गर्व गर्नुपर्ने बेला धर्मका नाममा लडाइँको बिउ छर्न खोज्नेहरू क्रियाशील छन् । उनीहरूलाई आज नै सरकारले दण्डित गर्नुपर्छ । यो समाजलाई बिगार्न पाइँदैन । एक नेपाली र अर्को नेपालीसित वैरभाव साट्न लगाउने समूहलाई सरकारले कुनै पनि हालतमा माफी दिनु मिल्दैन । विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने मुलुकमा अस्थिरता पैदा गराउने काम गर्न खोज्नु अपराधभन्दा अरु केही होइन ।
साँच्चै हिन्दू धर्मको बाहुल्यता रहेको नेपालमा अल्पसंख्यकमा भएका विशेषगरी किराँत, बौद्ध, ख्रिस्चियन, मुस्लिमलगायत धार्मिक समुदायले असुरक्षा महशुस गर्नु परेको छैन । धर्म र सम्प्रदायबीचको अनुपम सहिष्णुताले नै नेपाल विश्वमै कहलिएको हो । यहि शान्ति समाजलाई भड्काउन खोज्नेहरूका कारण मुलुकमा धार्मिक युद्ध फैलने सम्भावना बढ्दै गइरहेको छ । तर, यसलाई सरकारले परास्त गर्नु सक्नुपर्छ । प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देशलाई धार्मिक आस्था र विश्वाससमेतले नेपाललाई विश्वकै एक उदाहरण दिनलायक मुलुकका रूपमा नेपाल रहेको छ । धार्मिक पर्यटनका माध्यमबाट विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक आउने क्रम जारी छ । हिन्दूहरू पशुपतिनाथ, बुद्धिस्टहरू गौतमबुद्धको जन्मस्थल लुम्बिनी, किराँतको उद्गमस्थल खोटाङको तुवाचुङ जायजुमजस्ता धार्मिक स्थलमा आउनेहरूबाट पनि मुलुक विश्वकै एक धार्मिक स्थलका रूपमा चिनिन थालेको छ । भारत र चीनका अलावा अन्य मुलुकसमेतबाट धार्मिक पर्यटक भित्र्याउन यी धार्मिक स्थलले सहयोग पुर्याइरहेको छ । तर, धर्मका नाममा गरिएको विभिन्न गलत कामका कारण मुुलुक अशान्तितिर अघि बढ्यो भने यसले मुलुकलाई नै घाटा पु¥याउने हुनाले धार्मिक सहिष्णुता भड्काउन खोज्ने जो कोहीलाई पनि माफी दिनु हुँदैन ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६ ०८:०५