काठमाडौं– प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । चितवन जिल्लाको क्षेत्र नम्बर २ (१) र ३ (१)को मत परिणाम आएको छ ।
प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २ (१) मा कृष्णप्रसाद सिलवाल विजयी भएको छ । उनी एक हजार दुई सय ४० मतान्तरले विजयी भएको हो । उनले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार दुई सय ६० मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार एक सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिए। यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी भएको छ । तामाङले नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेलाई दुई हजार आठ सय ५७ मतले पछि पार्दै विजयी भएको हो । आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार आठ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित भएको हो ।
उनको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार नौ सय ५६ मत प्राप्त गरेको छ । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार छ सय २३ मत पाएको छ । यस क्षेत्रमा आठ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१) मा ५० हजार दुई सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:०२