काठमाडौं– नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
उनका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले ११ हजार छ सय ६२ मत प्राप्त गरेको छ र उनीहरुबिच मतान्तर चार सय ४८ रहेको छ ।
उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका नेपाली कांग्रेसका उम्मेदवार गीता अमात्यलाई चार हजार ६२ मत र नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रकाश लोहनीलाई दुई सय ८५ मत प्राप्त भएको छ ।
चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपेश लामाको दुई हजार आठ सय ८४ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्र न्यौपानेको पाँच सय १७ र शम्भुप्रसाद पनेरुको एक सय १२ मत आएको छ ।
चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १३ उम्मेदवार प्रतिस्पर्धामा भए पनि बाँकी उम्मेदवारले प्राप्त गरेको मत एक सयभन्दा कम छ । यस निर्वाचन क्षेत्रमा बेलकोटगढी नगरपालिकासहित विदुरको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ पर्दछन् । यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा ३३ हजार सात सय ७५ मत खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०४