काठमाडौं– यही मंसिरको अन्तिम सातातिर नयाँ सरकार गठन हुने सम्भावना छ । सम्भावित सरकार गठनको समीकरणबारे भने अहिल्यैदेखि चर्चा सुरु भएको छ । सार्वजनिक भएका चुनावी परिणामलाई आधार मान्दा कुनै दलले एकल बहुमत पु¥याउने अवस्था देखिँदैन ।
वरिष्ठ अधिवक्ता महेश नेपाल ‘थ्रेस होल्ड’ पार गरेर राष्ट्रिय मान्यताप्राप्त जुनसुकै पार्टीका संसदीय दलका नेताले दुई वा दुईभन्दा बढी दलका प्रतिनिधिसभा सदस्यहरूको समर्थन लिँदै सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्न सक्ने बताउँछन् ।
पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले हुने स्पष्ट देखिएको छ । तेस्रो दल बन्ने होडमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिन्छन् ।
नयाँ सरकार गठन हुने सम्भावना :-
- कांग्रेस नेतृत्वको गठबन्धन सरकार
- कांग्रेस–एमालेको सरकार
- एमाले, रास्वपा, राप्रपा, जसपा र जनमतको सरकार
- एमाले, माओवादी, समाजवादी, जनमोर्चासँगै जसपा–लोसपा सरकारड्ड कांग्रेस नेतृत्वको गठबन्धन सरकार
- कांग्रेस–एमालेको सरकार
- एमाले, रास्वपा, राप्रपा, जसपा र जनमतको सरकार
- एमाले, माओवादी, समाजवादी, जनमोर्चासँगै जसपा–लोसपा सरकार
सबै निर्वाचन क्षेत्रको परिणाम आइसकेपछि संविधानअनुसार राष्ट्रपतिले धारा ७६ को उपधारा (१) अनुसार नभई (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने सम्भावना बढेको छ । उक्त उपधाराअनुसार दुई वा दुईभन्दा बढी दलहरूले समर्थन गरेको प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्छन् । यो सहमतीय सरकार हो । मिलिजुली सरकार पनि भन्ने गरिन्छ ।
वरिष्ठ अधिवक्ता महेश नेपाल ‘थ्रेस होल्ड’ पार गरेर राष्ट्रिय मान्यताप्राप्त जुनसुकै पार्टीका संसदीय दलका नेताले दुई वा दुईभन्दा बढी दलका प्रतिनिधिसभा सदस्यहरूको समर्थन लिँदै सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्न सक्ने बताउँछन् । यस अधारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीका संसदीय दलका नेताले बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्ने अवस्था रहन्छ ।
बहुमतका लागि भने २७५ जना सांसदमध्ये १३८ जना सांसदको समर्थन चाहिन्छ । उसो भए कसले बहुमत जुटाएर सरकार गठन गर्लान् ? अथवा, कस्तो होला भावी सत्ता समीकरण ? चासोपूर्वक हेरिएको छ । तर, सत्ता समीकरणबारे चार सम्भावना रहेको विश्लेषण हुँदै आएको छ ।
पहिलोः कांग्रेस नेतृत्वमा गठबन्धन सरकार
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने चुनावअघि पटक–पटक दाबी गरेका थिए । सरकार पनि गठबन्धनकै बन्ने उनीहरूको भनाइ थियो । यदि, गठबन्धनले निरन्तरता पाउने अवस्था भए गठबन्धनको सरकार बन्ने स्थिति देखिन्छ ।
गठबन्धनमा कांग्रेस, माओवादीसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा छन् । यो समाचार तयार गर्दासम्मको चुनावी परिणामको आधारमा आकलन गर्दा कांग्रेसले प्रत्यक्षतर्फ ३६ सिट जितिसकेको, १७ क्षेत्रमा अग्रता रहेको र अझै केही क्षेत्रमा गणना हुन बाँकी रहेकोले करिब ५८ सिट जित्ने देखिन्छ । समानुपातिकतर्फबाट कम्तीमा ३७ सिट जितेको अवस्थामा ९५ सिटसहित कांग्रेस पहिलो हुनसक्ने अवस्था छ । समानुपातिकतर्फ कांग्रेसले दोस्रो बढी मत पाउँदै छ ।
माओवादीले प्रत्यक्षतर्फ नौ सिट जितेको र आठ सिटमा अग्रता हुँदा करिब १७ सिटमा जित्नसक्ने देखिएको छ । समानुपातिकतर्फ २०७४ मा जसरी मत नपाएको यो दलले १३ सिट पाए ३० सिट हुनेछ । गठबन्धनको अर्को दल एकीकृत समाजवादीले नौ सिटमा जित निकालेको र एक सिटका लागि अग्रता लिइरहेको अवस्था छ ।
उक्त दलको १० सिट हुने देखिन्छ, तर समानुपातिकतर्फ थ्रेस होल्ड कटाए केही सिट बढ्नेछ । हालसम्मको स्थितिमा भने थ्रेस होल्ड कटाउन नसक्ने अवस्था देखिएको छ ।लोसपाले दुई सिट जितेको र दुई सिटका लागि अग्रता लिइरहेकाले चार सिट जित्ने अनुमान गरिएको छ । राष्ट्रिय जनमोर्चाले एक सिट जितिसकेको छ । यस्तो अवस्थामा गठबन्धनको १४० सांसद हुने र बहुमतीय सरकार गठन हुनसक्ने आधार देखिन्छ ।
दोस्रोः कांग्रेस–एमालेको सरकार
यसपालि संसद्मा कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्ने निश्चित भएको छ । विगतमा संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनेको इतिहास छ । यसपटकको संसद्बाट पनि कांग्रेस र एमालेले मिलेर सरकार नबनाउलान् भन्न सकिँदैन ।
यदि, दुई दल मिलेको अवस्थामा स्पष्ट बहुमत पुग्ने देखिन्छ । तर, पहिलो दलले सरकार गठन गरे दोस्रो दल प्रमुख विपक्षी दलको भूमिकामा रहने संसदीय परम्परा छ ।
तेस्रोः एमाले नेतृत्वमा गठबन्धन सरकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शेरबहादुर देउवासँग भन्दा पनि केपी शर्मा ओलीसँग मिलेर सरकार गठन गर्ने बिहीबार संकेत गरे । प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाको एक ठाउँमा अग्रता छ । आठ सिट जिते भने समानुपातिकतर्फ कम्तीमा २० सिट प्राप्त गर्नेगरीको मत पाउने अड्कल हुँदै आएको छ ।
त्यसो हुँदा रास्वपाको करिब २८ सिट हुन सक्छ । एमालेले प्रत्यक्षमा २२ सिट जितेको छ । २४ क्षेत्रमा अग्रता छ । समानुपातिकमा पहिलो दल भएकोले अघिल्लोपटकमा जसरी ४१ सिट सांसद बनाउनेगरी मत आउनसक्ने विश्लेषण हुँदै आएको छ । त्यसो हुँदा एमालेले करिब ४७ सिट जित्ने उक्त दलका नेताहरूले अनुमान गरेका छन् ।
यो चुनावमा एमालेसँग ठाउँ–ठाउँमा चुनावी तालमेल गरेको राप्रपाले चार सिट जितेको र दुई ठाउँमा अग्रता रहेका कारण छ सिट जित्ने देखिन्छ । एमालेसँगको गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) को दुई सिट जितेको र चार क्षेत्रमा अग्रता रहेको हुँदा राप्रपाले जति नै छ सिटमा जसपाले चित्त बुझाउने चर्चा हुँदै आएको छ । यी दलहरूसँग एक सिट जितेको जनमत पार्टीले साझेदारी गरेको अवस्थामा अर्को सत्ता समीकरण बन्न सक्छ ।
चौथोः कम्युनिस्ट पार्टीहरू र जसपा–लोसपा सरकार
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मिलेर जाने प्रस्ताव बिहीबार गरेका छन् । दाहाल पनि थप छलफल गर्न तयार रहेको उनको सचिवालयले जनाएको छ । बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि विचार दर्शनका आधारमा अगाडि बढ्ने भए वाम एकता हुने बताएका छन् ।
यस आधारमा संसद्मा यी तीन दलहरू एकताबद्ध भएर नजालान् भन्न सकिँदैन । एकताबद्ध भए अर्को वामपन्थी दल जनमोर्चा र दुई पहिचानवादी दल जसपासँगै लोसपाले साथ दिए सरकार गठन गर्नेगरीको बहुमत जुट्नसक्ने देखिन्छ ।