काठमाडौं– गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद प्रवेश गर्ने अवसर प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बनेका एमाले सचिव गुरुङ तेस्रो पटक संसद प्रवेश गर्न सफलता पाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् भने उपविजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गत विसं २०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र) को तालमेल रहेको थियो । सो बेलामा पृथ्वी सुब्बा लमजुङ प्रदेश (२)बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गरेका थिए । पृथ्वी सुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए भने देवप्रसाद सांसद मात्र भएका थिए ।
अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो ।
विजयी एमाले नेता पृथ्वी सुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी भएका थिए । तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा विसं २०१४ गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा जन्मिए । उनको राजनीतिक यात्रा विसं २०२७ मा इशानेश्वर प्रमोद हाइ स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो ।
उनले सक्रिय राजनीति भने विसं २०३४ देखि गरेका थिए । विज्ञानमा स्नातक गरेका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध थिए । वि।सं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित भएका थिए । उनी शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटक पटक प्रहरी हिरासतमा समेत परेका थिए ।
विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दशौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । एमालेका गुरुङले वि।सं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा पराजित भएका थिए ।
विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएका थिए । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसकेका थिए । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि उनको अबको प्राथमिकता जिल्लाको आवश्यकताअनुसार पूर्वाधार विकास, सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गराउन पहल गर्ने बताए । वाम शक्तिबीच एकता गर्नका लागि सक्रिया भूमिकासमेत खेल्ने उनको भनाइ छ । “सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ”, उनले भने ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ १५:०८