एजेन्सी– उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन भएको छ ।
चीनको साङ्घाई शहरमा प्रदशन गर्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरेको भिडिओ विदेशी पत्रकारहरूले पोस्ट गरेका छन्। जसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ।
कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।
पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएको थियो । प्रत्यक्षदर्शी र भिडिओहरूका अनुसार उक्त प्रदर्शन चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो।
सरकारी निकायहरूले अस्वीकार गरेको भएपनि कैयौँ इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको लकडाउनलाई जिम्मेवार ठहर्याएका छन्।
भिडिओमा मानिसहरूले मैनबत्ती बालेको र पीडितहरूप्रति फुल राखेर सम्मान व्यक्त गरेको देख्न सकिन्छ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १०:३१