काठमाडौं– भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका– १ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।
शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १२:४१