काठमाडौं– दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने भएको छ । आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।
यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
वैत्यश्वरको वडा नं। ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १२:५३