काठमाडौं– वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरुको रोजाइमा युरोपेली मुलुकहरु पर्न थालेका छन् । पछिल्लो समय नेपाली कामदारले युरोपेली मुलुक माल्टा, रोमानिया, क्रोएसियालगायतका देशलाई श्रम गन्तव्यको रुपमा रोज्न थालेका छन् ।
वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा नेपालीहरुको अकर्षण बढ्न थालेपछि मलेसियालगायत खाडी मुलुकको विकल्पको रुपमा हेर्न थालिएको छ । कामदारले प्राप्त गर्ने उच्च पारिश्रमिक, सेवा सुविधा, मानवअधिकार तथा भौतिक सुरक्षाका कारण अहिले माल्टा, रोमानिया, क्रोयसिया, साइप्रस जाने नेपालीको संख्या बढ्दो छ । वैदेशिक रोजगार व्यवसायीहरुले पनि उल्लेखित मुलुकहरुबाट राम्रै संख्यामा कामदारको माग ल्याइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले पनि देखाएको छ ।
विभागको पछिल्लो छ महिनाको रेकर्डलाई हेर्ने हो भने, प्रत्येक महिना श्रम स्वीकृति लिएर रोजगारीका लागि युरोपेली मुलुकमा जाने नेपालीको संख्या बढ्दै गएको छ । छ महिनाको अवधिमा झण्डै छ हजार नेपाली रोमानिया पुगेका छन् भने क्रोएसिया जान चार हजार २०० भन्दा बढीले श्रम स्वीकृति लिएका छन् । यस्तै माल्टा जानेको संख्या पनि उल्लेख्य रहेको छ । माल्टामा तीन हजार ५०० को हाराहारीमा नेपाली पुगेको विभागको तथ्यांकले देखाउँछ ।
त्यसैगरी साइप्रस पनि नेपालीहरुको आकर्षक श्रम गन्तव्य बनेको छ । ६ महिनाको अवधिमा साइप्रसमा करिब दुई हजार तीनसय कामदार पुगेका छन् । रोमानिया जाने नेपाली कामदारको चाप बढेका कारण सहजताका लागि सरकारको पहलमा अहिले काठमाडौंमा नै ‘अस्थायी रोमानियन मिसन’ सञ्चालनमा रहेको छ ।
उल्लेख गरिएका युरोपेली मुलुकमात्र नभएर पोल्याण्ड, पोर्चुगल, अस्ट्रिया, बेल्जियम, टर्की, डेनमार्कलगायतका देशमा पनि रोजगारीका लागि नेपालीहरु गइरहेका छन् । युरोपमा आप्रवासी कामदारको माग बढेसँगै त्यसबाट लाभ लिनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ । स्वास्थ्य जनशक्ति पठाउने विषयमा बेलायतसँग सम्झौता भइसकेको भन्दै रोमानियासँग गर्ने भनिएको जिटुजी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । उनका अनुसार रोमानिया मात्रै नभएर युरोपमा विभिन्न मुलुक माल्टा, पोर्चुगल, पोल्याण्डसँग पनि श्रम सम्झौता गर्ने तयारी भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १४:२३