काठमाडौ– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को १९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले गरेका थिए । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको र १९ औँ वार्षकोत्सवले थप उर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिए ।
समारोहमा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले नेपालको लघुवित्त क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको कदर स्वरूप अभिनन्दन गरिएको थियो । त्यस्तै संचालक समितिका अध्यक्ष तथा समारोहका सभापति राम कुमार श्रेष्ठले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए । उक्त अवसरमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरू, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरू, संचालक समितिका पूर्व संचालकहरू लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरू मध्ये २०७५ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।