काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भावी प्रधानमन्त्रीको रूपमा हेरिएको छ । चुनावअघि उनले एकचोटी प्रधानमन्त्री भएर मुलुकलाई विकास र समृद्धिको पथमा हाँक्न अझै मन भएको बताएका थिए ।
त्यसो त चुनावमा माओवादी केन्द्रले दाहाललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो ।गठबन्धनको सरकार बन्ने तर कांग्रेसभित्र आन्तरिक किचलो भएको अवस्थामा दाहाललाई प्रधानमन्त्री बन्ने अवसर आउनसक्ने देखिन्छ । माओवादी केन्द्र तेस्रो ठूलो दल बन्ने स्थितिमा छ ।
प्रत्यक्षबाट १७ सिट जितेको माओवादीले कम्तीमा १५ सिट समानुपातिकबाट पाउने अवस्थामा छ ।सरकार गठनको विगत हेर्ने हो भने तेस्रो दल नै सत्ता समीकरणमा निर्णायक हुने र पटक–पटक सरकारको नेतृत्व लिने गरेको पाइन्छ । यस आधारमा दाहाल प्रधानमन्त्री नहोला भन्न नसकिने विश्लेषकहरु बताउँछन् ।
सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि प्रधानमन्त्रीका आकांक्षी हुन् ।तर, उनको दल राष्ट्रिय दल बन्ने सम्भावना न्यून हुँदा उनलाई प्रधानमन्त्रीको दाबीमा कमजोर बनाउने देखिन्छ ।
प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन सकेको छैन । प्रत्यक्षबाट जिते पनि समानुपातिकमा कूल सदर मतको तीन प्रतिशत मत प्राप्त नगर्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था छ ।
यद्यपि, अन्तिमसम्म थ्रेस होल्ड कटाउने अपेक्षा एकीकृत समाजवादीको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ ०८:५६