काठमाडौं– काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर थापाथलीको सुकुम्वासी बस्ती हटाउन खोजेपछि आज दोस्रो दिन पनि अशान्त बनेको छ । उनीहरुले आक्रोस पोख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पुत्ला समेत जलाएका छन् ।
बस्ती हटाउने भएपछि आज बिहानदेखि आन्दोलन गर्नुका सार्थै बस्ती प्रवेश गर्ने सडकहरुमा टायर,ढुंगा जस्ता चिजहरुले पस्ने बाटो बन्द गराएका छन् ।उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शनलाई जारी राखेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर हटाउन खोजेको थियो । त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो ।