काठमाडौं- फिफा विश्वकप २०२२ मा अहिले समूह चरणका खेल भइरहेका छन् । आजबाट एकै समयमा समूह चरणका अन्तिम दुई खेल हुदैँछ ।
समूह चरणको अन्तिम तथा निर्णायक खेल एकै समयमा हुँदा त्यसको प्रसारण हेर्न समेत दुई च्यानल आवश्यक पर्छ । तर नेपालमा हिमालय प्रिमियम नामक च्यानलमा शुल्क लिएर फुटबल लाइभको प्रसारण हुँदै आएको छ ।
नेपाली समय अनुसार मङ्गलबार राति ८:४५ मा पहिलो खेल इक्वेडर र सेनेगलबीच तथा सोही समयमा कतार र नेदरल्याण्डबीचको अर्को खेल हुँदैछ ।
त्यस्तै राति १२:४५ बजे इरान र अमेरिका तथा वेल्स र इङ्ल्याण्डबीच हुने खेल पनि एउटै समयमा छ । मिडिया हबका सञ्चालक सोम धितालले हिमालय प्रिमियमको सब्स्क्रिप्सन लिने ग्राहकले मात्रै हिमालय एचडीमा अर्को खेल हेर्न पाउने बताएका छन् ।
यसको अर्थ विश्वकप लाइभ हेर्न शुल्क तिर्ने ग्राहकले एउटा खेल हिमालय प्रिमियम च्यानलबाट हेर्न पाउनेछन् भने अर्को खेल नियमित टिभी च्यानल हिमालय एचडीमा आउनेछ ।
तर शुल्क नतिरेका दर्शकको टिभीमा भने खेल अवधिभर हिमालय एचडी टिभी च्यानल खुल्ने छैन । "शुल्क नतिर्ने उपभोक्तालाई हामी निःशुल्क खेल देखाउन बाध्य छैनौँ," उनले भने ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १९:१६