काठमाडौं– धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट यो १० दिनभित्रै त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको करिब १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।
यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ । केही समय पहिले नै रेलमार्ग सम्पन्न भएको थियो ।
सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनको भनाइ छ । दुईवटा सेट खरीद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्काे आइपुग्ने उनकोबताए । ‘सेट आइपछि नै सञ्चालनको तयारी हुनेछ’ उनले भने ।
सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहने बताइएको छ । ती दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको बताइएको छ । यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६ ०७:४१