काठमाडौं–इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौं दिनमा आइपुगेको छ । बिहिबार मञ्चन हुने इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।
उत्तरआधुनिक परिव्शमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ । मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औधोगिक मालिकहरुको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।
अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।
त्यस्तौ सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरु र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ ।
बिहिबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि सञ्चान हुँदैछ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिदैछ ।
बुधबार के के भए ?
छैटौं दिन बुधबार भारतको इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’ र श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन भएको थियो । पहिलो नाटक छायाँ र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको थियो भने दोस्रो लोक तथा सांगितिक शैलीमा प्रस्तुत भएको थियो ।
त्यस्तै महोत्सवमा नारायण वाग्लेको उपन्यासमा आधारित सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटक ‘पल्पसा क्याफे’को विमोचन भएको थियो भने ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ? ’ शीर्षकमा प्यानल डिसकसन सम्पन्न भयो । हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुतिका साथ छैटौं दिनको कार्यक्रम समापन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १०:५०