काठमाडौं -प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७६६ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९४३ र जनमत पार्टीले ३ लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्रनम्बर-२, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ । प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ ।
त्यस्तै माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् ।
स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ १४:३९