दोलखा –दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ ।
हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ९ हजार चार सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभा (१) मा १९ हजार तीन सय ६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ९ हजार तीन सय ६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (२) मा २४ हजार चार सय १० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार चार सय ७२ र एमालेका भरत केसीले ९ हजार आठ सय तीन मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ १६:५८